नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको विरोधमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले काठमाडौंको बागबजारमा प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन्।
बुधबार साँझ गरिएको प्रदर्शनमा विद्यार्थीहरूले मसाल जुलुससहित सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले कुलमान घिसिङलाई हटाउनु जनतामाथिको अन्याय भएको भन्दै सरकारको निर्णय तत्काल सच्याउन चेतावनी दिएका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘कुलमानलाई पुनः नियुक्त गर’, ‘प्रधानमन्त्री ओली मुर्दावाद’, ‘ऊर्जामन्त्री खड्का राजीनामा दे’ जस्ता नाराहरू लगाएका थिए।
अखिल क्रान्तिकारीका नेताहरूले कुलमान घिसिङले विद्युत क्षेत्र सुधारमा महत्वपूर्ण योगदान पुर्याएको तर सरकारको ‘राजनीतिक पूर्वाग्रह’ का कारण उनलाई हटाइएको आरोप लगाएका छन्। उनीहरूले यदि सरकार आफ्नो निर्णयबाट नहट्ने हो भने थप सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
प्रतिक्रिया