कोमल ओलीले यस पटकको तीजको लागि गीत निकालिछन् - 'धत्तेरिका शिवजी रहिछ्यौ बदमाश ।' शिवजीलाई बदमाश भनेपछि एकाथरीलाई चित्त बुझेन । सायद तिनै चित्त नबुझ्नेहरुको चित्त बुझाउनलाई नै होला नेपाली टिभीले उनको त्यो गीतलाई ब्याण्ड लगाईदिएछ । उनको पुरानो गीत 'पोइला जान पाम्' जस्तो हिट हुने लक्षण त यसमा थिएन, तर त्यो व्याण्डले भने शिवजीले ओलीलाई लक्ष्मी पठाइदिने भएका छन् ।
वास्तवमा शिवजी भन्दा पनि कोमल ओली नै 'बदमाश' हुन् । पोइल जान पाम् भनेर शिवजीसँग वरदान मागेपछि शिवजीले पोइला जानको लागि ओलीलाई पराक्रमी पुरुष खोजी गरिदिए । शिवजीले खोजी गरिदिएको पुरुषले पनि हाकाहाकी भने, 'पोइला जान पाम भन्नेलाई मैले ल्याउन पाम ।' आखिर शिवजीले ओलीले मागेको कुरा पुरा गरिदिए । अनि शिवजी कसरी बदमाश भए त ? बदमाश त ओली नै हुन् । शिवजीले बन्दोबस्त गरिदिए, तर पनि उनी नै पोइल गइनन् । अनि शिवजीलाई बदमाश भन्नु ठूलै बदमाशी भएन त ?
ओलीले नेपालमा अरु कसैलाई बदमाश देखिनछन् वा देखेर पनि बदमाश भन्न सकिनन् वा भन्न नै चाहिनन् । यो त उनैलाई थाहा होला । तर ती बोल्न नसक्ने, जे भने पनि सुन्दै नसुन्ने, गाली गरे पनि वा माया गरे पनि अथवा पूजा गरे पनि वा वास्तै नगरे पनि कुनै कृया प्रतिक्रिया नदिने शिवजीलाई 'बदमाश' भनेर उनले कुनै बहादुरी गरेकी भने छैनन् । केवल उनले गरेकी छिन् ब्यापार । शिवजीलाई बदमाश भनेवापत अव उनको घरभित्र लक्ष्मी मन खोलेर भित्रिने छिन् । उनी मालामाल हुनेछिन् ।
तर नेपालमा शिवजी बदमाश होइनन् । शिवजीले मलाई भारतीय पूजारीबाट मात्र पूजा गराउनु भनेकै छैनन् र तर बदमाशहरुले नेपाली पूजारी राख्न नै दिएनन् । शिवजीले ६ चोटी चुनाव गरेर पनि प्रधानमन्त्री चुन्न नसकुन् भनेर कहीँ कहिल्यै भनेकै छैनन् । यो त ती सबै करीव ६०० बदमाशहरुको हुलको बदमाशी हो । शिवजीले भारतीय राजदूतलाई गभर्नर ठान्नु भनेर भनेकै छैनन् तर बदमाश नेताहरुले नै गभर्नर मान्ने गरेका छन् ।
शिवजीले भ्रष्ट, अत्याचारी र क्रुर नेपाली सेनालाई मत्याएर पाल्नु भनेकै छैनन् तर विद्याजस्ती 'बदमाश'ले नै सेनालाई मत्याइरहेकी छिन् । नेपालभर यस्ता बदमाशहरु कति छन् कति, तर ओलीले मागेको बोली पुरा गरिदिएका विचरा शिवजीलाई बदमाश भनेर कोमल ओलीले बदमाशी गरेकी छिन् । त्यसैले अहिलेके तीजमा गीत यस्तो हुनुपर्ने थियो, 'धत्तेरिका ओलीजी ! रहिछ्यौ बदमाश..।'