जनकराज थपलिया
हरेक वर्ष तीजमा आफ्ना साथीहरुलाई बोलाएर दर खुवाउने कपन-३ की सिता उपाध्यायले यस वर्ष पनि तीज आउनु भन्दा करीब बीस दिन अघि नै साथीहरुलाई घरमा बोलाइन । घरमा आएका साथी तथा आफन्तहरुले दिनभर गीत गाएर र नाचेर रमाइलोसँग दिन विताएकोमा उनी खुसी पनि छिन् । उनी तीज भन्दा एक महिना अघिदेखि नै यस्तो दर खुवाउने कार्यक्रममा आफु सहभागी हुँदै आएको बताउँछिन् ।
तीजलाई चाड र परम्परा भन्दा पनि फेशनको रुपमा हेर्ने महिलाहरुको संख्या बढ्दै गइरहेको छ । उनीहरुले यो पर्वमा कस्तो खाने र कस्तो लगाउने भनेर तीज आउनु भन्दा धेरै अगाडिदेखि योजना बनाउने गरेको पाइन्छ । काठमाडौका पार्टिप्यालेस र घरका छतहरुमा तीज आउनु भन्दा एक महिना अघि देखिनै तीजका गीतहरु घन्किन थालिसेका थिए भने रातो पहिरन लगाएर दर खान हिँड्ने महिलाहरुको लस्कर पनि प्रसस्तै देखिन्थ्यो ।
ज्योती पार्टिप्यालेस चुच्चेपाटिका निर्देशक रवि शर्मा आफ्नो पार्टिप्यालेस एक महिना अघिदेखि तीज सम्मको लागि बुक भइसकेको बताउँछन । हरेक दिन कुनै न कुनै स्थानीय महिला समूहले दर खाने कार्यक्रम राखेको छन् । उनी यसरी दर खाने महिलाहरुको संख्यामा अघिल्लो वर्ष भन्दा बढेको दावी समेत गर्छन् । साथै महिलाहरुको दर खाने कार्यक्रममा पुरुषहरुको उपस्थिति समेत रहेको देख्दा आफुलाई अच्चम लागेको रवि शर्मा बताउँछन् ।
अघिल्लो वर्ष तीजमा ५० हजार रुपैयाँ खर्च गरेकी सिता उपाध्यायले यस वर्ष यो रकमले नभ्याउने बताइन् । उनले दर खुवाउने दिनमा मात्रै ३० हजार भन्दा बढि खर्च भएइसकेको जानकारी दिइन । आफु दर खान सहभागी भएका साथीहरुको घरकै स्तरमा कार्यक्रम गर्नु पर्ने हुँदा पनि यो सालको तीज अझै महँगो हुने उनले बताइन् । त्यसैले यो वर्ष ६० हजारसम्म खर्च हुनसक्ने उनको अनुमान छ ।
समय क्रमसँगै तीज पर्व फेशनमा परिर्वतन भएपछि महिलाहरुबीच कसले महँगो र नयाँ डिजाइनको साडी र गहना लगाउने भन्ने प्रतिस्पर्धा हुनेगर्छ । त्यसैले प्रत्येक वर्षको तीजमा महिलाहरुको तीज खर्च बढ्ने गरेको बताउँछन् । 'पाँच हजारको एउटा साडी किनेँ, अरू त बाँकी नै छ' असनमा सामान किन्दै गरेकी उपाध्यायले भनिन् 'यस पटक सबै चिजहरु पनि महंगो भएका छन् ।'
हरेक तीजको अवसर पारेर नयाँ गहना किन्नुपर्दा अलि बढि खर्च हुने भएकोले यसवर्ष आफुले गहनामा पैसा खर्च नगरेको सिता उपाध्यायले बताइन् । आफ्नो पुरानो डिजाइनको गहनालाई नै नयाँ डिजाइनमा परिर्वतन गरेको उनले जानकारी दिइन् ।
कोटेश्वरको एक नीजि विद्यालयकी शिक्षिका लक्ष्मी पाठकले तीज विशेषको किनमेल एक महिना अघि नै सकिसकेकी छन् । उनले घरका सामान्य आवश्यक समानहरुमा नै खर्च गरेको बताइन् । 'तीजका लागि भनेर गहना र साडीमा पैसा खर्च गरिन' पाठकले भनिन् 'तर पनि साथीहरुले बोलाउँदा जानु पर्ने हुँदा १०/१५ हजार खर्च हुने उनले अनुमान लगाएकी छिन् ।
तीज आउन झन्डै एक साता बाँकी हुँदा सपिङ गर्नेहरू क्रियाशील भए पनि राजधानीका निम्न आय हुने वर्गमा भने यसको कुनै झल्को देखिँदैन । मैतीदेवी चोकमा तरकारी व्यापार गरेर वस्ने अमृता थापा मैलो र पुराना कपाडामा नै तरकारीको व्यापार गर्ने गर्छिन् । थाहा पाएसम्म तीजमा उनले नयाँ कपडा फेरेकी छैनन् । 'अरु केही शीप छैन श्रीमान्ले पनि पहिल्यै छाडिदिए' थापाले भनिन् । पहिला पहिला त व्रत पनि बस्थिन् उनी । अहिले त छाक टार्न गाह्रो हुन थालेको छ । बच्चाहरुलाई पढाउन पनि काम नगरी सुखै छैन, उनले भनिन् 'रहर त लाग्छ, तर के गर्नु हुनेखाने कै रै'छ तीज पनि । '
कसैलाई महिना दिन अघिदेखि तीज लागिसक्यो कसैलाई भने मजदुरी नगर्दा पेट भोकै होला भन्ने चिन्ता छ । अरू महिलाहरु तीजको रमाइलोमा हिडादा काभ्रेकी १४ वषिर्या मुना मगर इँटा बोकेर हिँड्छिन् । 'मेरो पनि धर्म त हिन्दु नै हो तर व्रत बस्दिन् ' उनले भनिन्, व्रत बसेपछि मीठो खाने कुरा खानुपर्छ नयाँ कपडा लगाएर पूजा गर्नुपर्छ त्यो मसँग छैन ।
तीजलाई हिन्दू महिलाको विशेष चाडको रूपमा मनाउने चलन छ । तर, कसैले तीजका लागी महिनौं अगाडिदेखि रकम छुट्याएर तडकभडक गरेर मनाउने र कुनै महिलाको काम नगरे भोकै बस्नुपर्ने बाध्यात्मक अवस्थाले आखिर तीज कसका लागी ? भन्ने अन्योल थपिएको छ । यस वर्षको तीज पर्व आगामी भदौ २६ गते परेको छ ।