Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
मेरो ढाकाटोपी
-विजयराज न्यौपाने
 
-विजयराज न्यौपाने

मलाई अलिअलि थाहा छ, सायद म पाँच वर्षको हुनुपर्छ । गाईको गोठमा मलाई गाईको दाम्लोले बाँधेर मेरो कपाल पहिलो चोटि काटिएको थियो । तल चरेसको थालमा एउटा रोटी, केही फूलहरु र एउटा पैसो राखिएको म अहिले पनि झलझली देख्दछु । कपाल काट्ने मामा थिए कि अरु नै त्यो थाहा पाउन्न तर कपाल काट्नेले काटेको कपाल थालमा झार्दै थिए । सायद कपाल बाहिर पर्न दिनु हुँदैन भनिन्थ्यो होला । मेरो निधारअगाडि रातो डोरीको लुर्को देखिने गरी काटेको मेरो कपाल अव टाउकोमा थिएन । कपाल सुरुमा काट्ने संस्कृति त्यति बेला यस्तै थियो । मैले टाउकोमा हात राखेँ । टाउकोलाई सुम्सुम्याएँ । टाउकोमा कपाल थिएन । एउटा अनौठो अनुभूति गर्दै थिएँ त्यसमाथि अर्को अनौठो थपियो, ढाकाटोपी । फेरि मेरा हातले टोपी लगाएको टाउको सुम्सुम्याएर म मक्ख परेँ । अरु हाँसे मलाई हेरेर । म झन् हाँसे । यसरी पहिला चोटी ढाकाटोपीलाई जीवनमा स्वागत गरेँ । यसरी पाँच वर्षदेखि मेरो टाउकोसँग ढाकाटोपीको मितेरी गासिएको छ । मलाई थाहा छ, सेतो नरम जालिदार खोलभित्र काला काला थोप्ला भएको बुट्टे ढाकाटोपी, मेरो ढाकाटोपी ! कत्ति प्रेम थियो मेरो त्यो टोपीसित । अहिले टोपी लगाएको स्वर्ण वर्ष मनाएको छु मैले । झलक्क त्यही टोपी देख्छु र म टोपी उत्सव मनाउँछु याने शिरमा सजाउँछु ।

तीनताका लुगा धुँदा पँधेरामा ताउलामा पानी, खरानी र लुगा राखेर भकभकी पकाई धोइन्थ्यो । ताउलामा पानीमा पाकेका लुगालाई मुङ्ग्रोले कुटेर मैलो र खरानी निखारेर धोइन्थ्यो । मेरो हजुरबा, बा र मेरो टोपीलाई भने खरानीको फूल र तातोपानी ताप्केमा राखेर हलका हातले आमा धुनुहुन्थ्यो । कति जतन र मान गरिन्थ्यो ढाकाटोपीको ।

एकपल्ट वनमा काफल खान जाँदा नुनको ढिको र खुर्सानी कमेजको खल्तीमा राखेर गएछु क्यारे । जुन बेला भर्खर दौरा छोडेर मैले कमेज लगाएको थिएँ । बा राणा शासनकालमा नै जागिरे -बहिदार) भैसकेर फर्किसकेको हुनाले मलाई काठमाडौं -त्यतिबेला नेपाल भनिन्थ्यो)बाट एउटा कमेज ल्याइदिनुभएको थियो । त्यही कमेजमाथि थियो मेरो टोपी । काफलको बोटमा सुरेली खेलेर चढियो । भर्खर पाक्न लागेका रसिला काफल वाल-दोस्तीहरुसँगै टिपियो । काफल कहाँ साँध्ने कहाँ सायद तत्काल कुनै सोच आएन । सबैको आँखा मेरो ढाका टोपीमा परे । टोपीको भित्रपट्टी सायद पसिनाको गन्ध, मैलो आउला भनेर होला टोपीको बाहिरपट्टी काफलसहित नुन खुर्सानी राखेर काफल साँधियो । ट्वाक्क जिब्रो पड्काउँदै खाइयो । भोलिपल्ट स्कूल जाने बेलामा टोपी लगाउन खोज्दा त वेफ्वाँकमा टोपीमा काफल साँधिएछ भन्ने लाग्यो । अमिलो र नुनले टोपीभरि दाग पारेछ । पानीले पुछेँ, धुन खोजेँ गएन । आफ्नै मस्तिष्कमा दाग लागेजस्तो लाग्यो, टोपीको दाग । त्यो बेलादेखि भने मैले टोपीको जतन गर्न थालेँ । सुत्नुभन्दा अगाडि या त सिरानीमा टोपी पट्याएर राख्थेँ या त काँटीमा झुण्याएर, अहिले पो आएर टेवुल दराज । अब मेरो टोपी मैले विश्राम लिँदा टेवुल वा दराजमा बस्छ अनि मैले कतै साइत गरी हिँड्दा मसँग मेरो शिरको शान बनेर बस्छ । म जहाँ पुग्छु मसँगै मेरो ढाकाटोपी पुग्छ । चन्द्रसँग चाँदनी भएजस्तो यो कलमकारसँग ढाकाटोपी अभिन्न भएको छ ।

स्कूल जाँदा टोपी, जन्त जाँदा टोपी, कुनै सभा कचहरी जान पर्‍यो टोपी । शहर-बजार, मामाली, ससुराली जहाँ पुग्न परोस् ढाकाटोपी । हर साइतमा ढाकाटोपी । ढाकाटोपीसँग मेरो मितेरी यसरी झ्याङ्गिदै गयो, घना हुँदै गयो । अब त म जहाँ छु त्यहीँ ढाका टोपी सँगै पाउँछु । फूल छ फुलेको छैन भने के काम छ ? हिमाल छ, हिउँ छैन भने नाङ्गो काला पत्थरको के अर्थ हुन्छ ? फलको बोट छ, फल लाग्दैन भने के काम छ ? मलाई त्यस्तै लाग्छ टोपीबिनाको टाउको । कुखुराको भाले जहाँ छ, त्यहाँ त्यसको रातो सिउर ढल्किएकै हुन्छ । त्यस्तै हाम्रो भाले टाउकोमा ढाकाटोपी र पोथी टाउकोमा मजेत्रो, पछ्यौरी, सारीको आँचल, डोरी रिवन । त्यो पनि केही नभए, महिलाको निदारमा सानो रातो टिकी हुनुपर्छ भन्ने मेरो मान्यता हो । त्यसमा कोही सहमत वा असहमत भए पनि ।

कहिलेकाहिँ टोपी नलगाई ऐना हेरियो भने म आफैलाई अपूरो अधुरो जस्तो पाउँछु । टोपीबिनाको शिर निस्तेज पाउँछु । फिक्का र फोस्रो पाउँछु । जव ढाकाटोपी लगाउँछु अनि शिरको शोभा बढेको पाउँछु । ढाकाटोपीसहितको मेरो मुहार सयपत्रीझैं ढकमक्क फुलेको पाउँछु, हिउँले चुलिएको हिमालझैं पाउँछु । त्यसैले ढाकाटोपीमा मलाई देख्नेहरु भन्छन्, वा ! क्या शान छ तपाईको, कति राम्रो सुहाएको !

स्कूल पढ्दा जुल्फी काटियो तर ढाकाटोपी छोड्न सकिएन । जुल्फी लर्काएर त्यतिबेला पनि आफूलाई बीसौं शताव्दीको आधुनिक ठिटो कहाँ भिरेर हिँड्छ टोपी ? फलानो (मेरो नाम लिएर) जस्तो हो र भनी टोपीको आडमा मलाई होच्याउन खोज्थे साथीहरु । जुल्फी लर्काएर हिँड्थे उनीहरु । तिनै जुल्फी हल्लाउनेहरुका साथ आफू पढ्नुपर्ने, हिँड्नुपर्ने भए पनि मैले टोपी छोडिन । म भन्थँ, नेपालको प्रतीक हो मेरो टोपी । चन्द्र सूर्य अंकित झण्डा हो मेरो टोपी । सगरमाथाको शान हो मेरो टोपी । ज्ञान र विज्ञानको दोसाँध हो मेरो टोपी । कविजीको कविता फुर्‍यो भनी उनीहरु आफै हार स्वीकारेझैं, टोपीको इज्जतमा रमाएझैं देखिन्थे । म भने ढाकाटोपीमा मक्ख पर्थें र हातले टक्क ढाकाटोपी सुम्सुम्याएर मिलाउन खोज्थेँ ।

बीस वर्षको लक्का ठिटो, ओठमाथि कालो जुँगाको रेखी चढ्दो उमेरमा शिक्षक बन्दा पनि मेरो टाउकोमा ढाका टोपी उनिएकै थियो । मेरो परिभाषामा एउटा नेपाली शिक्षकसँग आफूलाई शिष्ट र मर्यादित बनाउन पनि टोपी लगाएको हुनुपर्छ ।

मर्यादित शिक्षकलाई देखेर विद्यार्थी स्वतः मर्यादित बनुन् । सफा सादा पोसाकमा शिरमा टोपी र पाउमा जुत्ता शिक्षकसँग हुनुपर्छ । त्यतिबेला चप्पल लगाएर दाह्री कपाल झुस्स पारेर ल्याफ्राङ ल्याफ्राङ हिँड्ने शिक्षकलाई म आदर्श शिक्षक मान्न कहिल्यै तयार भइन । शिक्षक उ आफ्नो लागि मात्र होइन, त्यो भन्दा बढी विद्यार्थीहरुका लागि हो । अभिभावकका लागि हो । हेर्दा शिक्षकको पत्यार दिन नसक्ने, पढाउनका लागि पाठको तयारी गरेर समयमा नआउने र आफूलाई समालेर मर्यादित रुपमा प्रस्तुत हुन नसक्ने शिक्षकलाई मैले असल शिक्षक कहिल्यै मानिन । विद्यार्थीको मनोभाव पढेर विद्यार्थीलाई रोचक ढंगले नपढाउने शिक्षकलाई सफल शिक्षक मान्न म कहिल्यै तयार भइन । ढाकाटोपीको मर्यादित जीवनले मलाई सिकाएको पाठ यस्तै थियो । लमजुङमा २७ वर्षसम्म शिक्षक, प्रधान शिक्षक भएर पढाउँदा यस विपरित चरित्रका शिक्षकसँग मेरो सधैं टकराव परि नै रहृयो । मैले भने कहिल्यै सम्झौता गरिन उनीहरुको त्यो फोस्रो रबाफिलो या झ्याउरो जीवन शैलीलाई । व्यक्तिगत जीवनमा जे गरे पनि हुन्छ तर स्कूलको पर्खालभित्र, विद्यार्थी अभिभावकका अगाडि वा कक्षाभित्र ढाका टोपीमा भए बेस, नभए पनि अन्य पहिरन, बोलीचाली ब्यवहारमा शालिनता प्रदर्शन हुनै पर्छ भन्ने मान्यता हो मेरो । कलिला विद्यार्थीका अगाडि शिक्षक नै एक नमुनायोग्य व्यक्ति हो । त्यसको प्रभावले उनीहरुको पछिसम्मको जीवनलाई मर्यादित बनाउँछ भन्ने मेरो ठम्याई हो । यही ठम्याईले म लमजुङ छोडेपछि काठमाडौंका बोर्डिङ र कलेजमा पढाउँदा पनि ढाकाटोपीसहित प्रस्तुत भएँ । मेरो परिचय मेरै ढाका टोपीले दिन थाल्यो । विशेषता यसैले झल्काउन थाल्यो ।

अहिले भाइ हरि र उसको परिवारलाई भेट्न म बेलायत आएको छु । बेलायतमा घुम्दा, जहाँ जहाँ पुग्दा पनि ढाका टोपीको शान बढेकै अनुभव गरेको छु । अपरिचित, काला वा गोरा हुन् ती मलाई हेर्छन् र परिचितझैं मुस्कुराउँछन् । कोही आँखा चम्काउँछन् र मन्द मुस्कान फर्काउँछन् । वेल्सम एकचोटी जाँदा सर्भिस एरियाको सुपरमार्केटमा दुई जना महिलाले ढोका अगाडि नमस्ते भनेर मुस्कुराउँदै स्वागत गरे । कोही चिनेका पो हुन् कि भनेर तिनीहरुको फूलझैं मुस्कुराएको अनुहार जाँचेँ । होइन यो ढाका टोपीको कमाल हो भन्ने लाग्यो । उनीहरुले मेरो टोपीमा स्टिकर टाँसिदिए, ब्रुसरहरु दिए । उनीहरु नेपालमा ट्रेकिङका लागि गएका रहेछन् । नेपालसँग नाता मेरो ढाकाटोपीले जोडेको थियो उनीहरुसित ।

एक चोटी वीनचेष्टर (इङलैण्डको पुरानो राजधानी) मा अवस्थित गोर्खा म्युजियममा पस्दा एक जना गोराले 'नमस्ते, आउनुहोस्, आउनुहोस्, स्वागत छ, भन्दा नमस्ते फर्काउँदै अचम्म मानेर उसको नगिचै पुगेँ । उनले अँगालो मारेर स्वागत गरे । दुवै रमायौँ र पूर्व परिचितझैं फेरि परिचयको नवीकरण गर्‍यौँ । उनी रहेछन्, मेजर जी एल. डेभिज ३३ वर्ष सिक्स जी.आर.मा नोकरी गरेका । गोर्खा पल्टनका नेपाली लाहुरेहरुसँग काम गरी खाईखेली ठाडा भएका । नेपाली भाषा त पानीझैँ पिएका । यही मेरो शिरको ढाका टोपीले उनीसँग आधा घण्टा भन्दा बढी कुराकानी गरायो । उनको बोलीचाली ठट्टापूर्ण मिजासिलो व्यवहार देख्दा उनी आधा अंग्रेज र आधा नेपालीझैँ देखिन्थे । उनलाई भेट्दा कर्नेल जे.पी. क्रस (जो अहिले पोखरा बस्छन्)को याद आयो । लमजुङमा म हाइस्कूलको प्रधान शिक्षक भएका बखत धेरै पहिले उनीसँग भेट भएको थियो । बोल्दा कान हल्लाउँथे र हसाउँथे । बोलीपिच्छे ठट्टा, हाँसो, अनौठो कला थियो उनीसँग । त्यस्तै रहेछन् यी केभिज । अल्डरसट, फार्नबरो जहाँ जहाँ पुग्दा पनि मेरो ढाका टोपीले नेपाली चिनाएको र चिनाजानी गराएको ताजा अनुभूति मसँग साँचिएको छ ।

त्यस्तै एकचोटी पिटरबरो सहरमा एक जना मानिसले हातले इसारा गरी डाके जस्तो, पर्ख भने जस्तो लाग्यो । पछि उनी रहेछन् नेपालकै राघव । हामीसाग भेट हुँदा कति रमाए । हामीसँग १५/२० मिनेट हिँडे, हामी बसेकै घरमा आए । पत्नी र सानी नानीसहित थकाई मारे, पानी पिए, खाजा खाए र विदा भए । मेरो शिरको ढाका टोपीको सम्बन्ध र संस्कार थियो यो । वेल्स (ओएल्स) जाँदा सीता गौतमले नेपाली दाइसँग फोटा खिच्ने भनेर धेरै पटक मलाई राखेर फोटा खिचाइरहिन् । मेरो ढाका टोपीको सामिप्यता हो यो । उनलाई फोटो खिच्ने, फोटामा टोपी लगाएको दाइ भेट्ने रहरको उत्प्रेरक शक्ति पनि यही ढाका टोपीमा लुकेको थियो । यसरी नै हरेकृष्ण हरे रामकी गान्धारी विदुषीले पनि मसँग बसेर फोटाहरु लिन चाहिन् । उनले मसँग बस्दा नेपालको संस्कृति भेटिन् मेरो ढाका टोपीमा । यसै भएर नेपाली टोपीको धेरै गुनगान बखान गरिन् ।

मेरो ढाका टोपी मेरो मुटुको ढुकढुकी जत्तिकै प्रिय छ । नेपालझैँ प्यारो छ । हिमालझैँ प्यारो छ । यसैमा मेरो नेपालको छायाँ छ । यसैमा नेपालको माया छ । मेरो मन मन्दिरको गजुर हो यो । नेपाललाई उदघाटन गर्ने मेरो शान हो ढाका टोपी । अमूक भाषा सगरमाथाको आभास छरिरहन्छ मेरो ढाका टोपी । प्रिय ढाका टोपी ।

 
अन्य शीर्षकहरु
मेरो ढाकाटोपी -विजयराज न्यौपाने
बेलायतमा नव वर-वधूझैं यात्रा
चालिसेले छुँदाको यो क्षण - केदार 'संकेत'
एकैचोटि फिल्म सुटिङको ओइरो ः तीन महिनादेखि बुकिङ भए कलाकर्मीहरु
परिवर्तन हुँदैछन् तीज मनाउने शैलीहरू माधव निर्दोष
राष्ट्रिय चर्चापछि जन्मभूमिलाई माया मारे कलाकारहरुले
म रोई दिएँ –रीना प्रधान
झन् झन् चर्चा बटुल्दै राजु सिंह
ज्ञानेन्द्र शाहको कर्तूत संझिदै श्रष्टाहरुको बहस
युबराज र कृष्णको सम्झनामा भुमिराज राई
वुवाआमाप्रति गर्नुपर्ने कर्तव्यबाट म चुकेको छु –के भण्डारी
आन्दोलनका दिन सम्झँदै अर्जुन पराजुली
अटोग्राफ लिएर गइन् उनी
कलाकार - दशैं र तिहार
अन्याय र अत्याचारका बिरुद्धमा दलन
रत्नपार्कमा गणतान्त्रिक कविता
नेपाली लोकगीत र बिमाकुमारी दुरा
गजल - सुमन घिमिरे
देउडा गायक समाजसेवामा janak Raj Thapaliya जनकराज थपलिया
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly