काठमाडौं, सेप्टेम्बर ९/शान्ति प्रक्रिया र संविधान निर्माण सुनिश्चितताको माग गर्दै राष्ट्रिय सहमति कायम गर्न दलहरूलाई दवाव दिने उद्देश्यस्वरुप निजामती कर्मचारीहरूले बिहीबार एक घण्टा काम बन्द गरेका छन् । पेसागत महासंघको आहृवानमा बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म पेन डाउन गरेको नेपाल निजामती कर्मचारी संगठनले जनाएको छ ।
अस्पतालहरूमा कार्यरत कर्मचारीहरूले भने एक घण्टा हातमा कालोपट्टी बाँधेर काम गरेको संगठनले जनाएको छ । यस्तै, असोज १ गते काठमाडौं उपत्यकालगायत ७२ जिल्लामा नागरिक समाज र राजनीतिक दलहरूसँग शान्ति, संविधान र अग्रगमनका विषयमा बृहत छलफल गर्ने निर्णय गरेको पेशागत महासंघ नेपालले निकालेको विज्ञप्तीमा लेखिएको छ ।
असोज १५ गते संविधान र अग्रगमनका विषयमा जुलुस प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । संघका महासचिव प्रेमलकुमार खनालद्वारा जारी विज्ञप्तीमा संविधान निर्माण र सहमतिको राजनीतिक बाटोमा अघि बढ्न दलहरूलाई आग्रह गरिएको छ ।
(
ने.स्व.स.से)