काठमाडौं, मार्च ५ । प्रधानमन्त्री माधवकुमार नेपालले अहिलेका अपराधीहरु राजनीतिक सुरक्षामा रहेको भन्दै तिनीहरुलाई तह लगाएरै छोड्ने दावी गर्नुभएको छ । राजधानीमा एक उद्धघाटन कार्यक्रममा प्रधानमन्त्री नेपालले उद्योगी व्यवसायीहरुसँग पैसा असुल्ने, देशमा असुरक्षा मच्याउने डनहरुको समुहलाई आफुले तह लगाउने बताउनुभयो । अपराधीहरु राजनीतिक घेराभित्र रहेको नेपालको भनाई छ । 'यदि माओवादीका कार्यकर्ताहरुले उद्योगी व्यसायीहरुसँग पैसा असुल्ने गरेका छन् भने त्यो काम बन्द गर्नुहोस् ।' प्रधानमन्त्री नेपालले माओवादीलाई संकेत गर्दै भन्नुभयो 'अपराधीलाई संरक्षण गर्ने पार्टी कालान्तरमा सखाप भएर जान्छ ।'
यसैबीच सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले सञ्चार उद्यमी जमिम शाहको हत्यारालाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गर्ने प्रयास भइरहेको बताउनुभएको छ । रासससँगको कुराकानीमा पोख्रेलले राजनीतिक शक्तिहरु सरकार असफल पार्न त्यस्ता क्रियाकलाप गरेको बताउनुभयो ।