लण्डन/बेलायतमा बसोबास गरिरहेका लिम्बुवानबासी नेपालीहरुको संगठन लिम्बुवान स्वायत्त नागरिक एकता समाज युकेको आयोजनामा २६ फेब्रुअरी २०१० मा लण्डनस्थित नेपाली दूताबास परिसरमा प्रदर्शन भएको छ । कार्यक्रममा इस्ट लन्डन, वेष्ट लन्डन, बेजिङ्स्टोक, फानबरो, अक्सफोर्ड, स्विन्डन्, केण्ट, शर्नक्लिफ, अल्डर्सट्, रेडिङ्, वेष्ट मिड्लेन्ड्, आस्फोर्डलगायत ठाउँहरुबाट लिम्वुवानवासीहरु सहभागी भएका थिए ।
प्रदर्शन कार्यक्रम दिनको १ बजेदेखि सुरु भएर २ बजे समापन गरिएको थियो । प्रदर्शनकारीहरुले 'दश लिम्बु सत्र-थुम) किल्ला, लिम्बुवान मेची-कोशी को नौ जिल्ला, लिम्बुवानको ऐतिहासिक सिमानालाई अतिक्रमण गर्न पाइँदैन, लिम्बुवानबासीको चाहानालाई कदर गर्नैपर्छ, वर्तमान नौ जिल्लाको लिम्बुवान हुनैपर्छ, वर्तमान नौ जिल्ला लिम्बुवानको ऐतिहासिक भूमि हो, लिम्बुवानको ऐतिहासिक सिमाङ्कनलाई अतिक्रमण गर्न पाइदैन जस्ता नाराहरु लेखिएका ब्यानर बोकेका थिए ।