मुलुकको राजनीतिक समस्या समाधान हुन नसक्नुको मुख्य कारण के हो ?
वास्तवमा मुलुक अहिले जुन ऐतिहासिक चरणबाट अगाडि बढ्दैछ र हामीले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने, समयमै नयाँ संविधान निर्माण गर्नुपर्ने आवश्यकता छ । यही नै अहिले राष्ट्रको प्रमुख मुद्दा पनि बनेको छ । राजनीतिक दलहरुले यही नै मुलुकको सबैभन्दा ठूलो समस्या हो र यही नै हाम्रो कार्यदिशा हो भनेर प्रतिबद्धताका साथ लाग्नुपर्ने खाँचो छ । २०६७ साल जेष्ठ १४ गते भित्रमा नयाँ संविधान निर्माण गरिसकेको हुनुपर्छ । त्यही ढङ्गले लाग्ने प्रतिबद्धता र त्यो प्रतिबद्धतालाई कार्यान्वयन गर्ने विषयमा नै तल्लीन हुनुपर्छ ।
पटक पटक कार्यदलहरु गठन भए, ती कार्यदलले पनि केही गर्न सकेनन् । शिर्ष दलले पनि केही गर्न सकेनन् । शिर्ष बैठक समेत बस्न सक्दैन, यो समयमा त खाली आरोप प्रत्यारोप मात्रै देखियो नि ?
हामी अहिले पनि यही विषयमा गम्भिर छौँ, तर यही अवस्थामा माओवादीले आन्दोलनलाई नै अघि बढाइरहेको छ । माओवादीले चौथो चरणको आन्दोलन गरिरहेको छ । यो आन्दोलनको वातावरणले देशव्यापी रुपमा तनाव सिर्जना गरेको छ । कुटपिट, झगडा जस्तो स्थिति सिर्जना भएको छ । खासगरी यो आन्दोलनसँगै प्रतिक्रान्तिवादी र प्रतिक्रियावादी तत्वले यसबाट फाइदा उठाउने प्रयास गरिरहेका छन् । यसर्थ हामीले आ-आफ्ना माग र आ-आफ्ना कुरालाई बैठकमा राखेर टेबुलमा बसेर समस्या समाधान गर्नुपर्छ । यो कुरालाई हामीले कांग्रेेस र माओवादी दुवै पक्षलाई भन्दै आइरहेका छौँ । मतमतान्तर झै-झगडा र काटमार हाम्रो विषय होइन । हाम्रो विषय त यी अलोकतान्त्रिक कुरालाई हटाउँदै हाम्रा मतमतान्तरलाई पनि थांती राखेर इतिहासको यो महत्वपूर्ण घडीमा हामीसँग दुरदर्शीता छ, देशप्रतिको र जनताप्रतिको प्रतिबद्धता छ भने यी सवै कुरालाई थांती राखेर साझा सवाललाई अघि बढाउन नितान्त आवश्यक छ ।
तपाईकै पार्टीले मुलुकको नेतृत्व गरिरहेको अवस्थामा त सबै समस्या समाधानको पहल गर्ने जिम्मेवारी त एमालेकै हो नि होइन त ?
हामीले अहिले देशको नेतृत्व गरेका छौँ । यो सरकार गठन गर्दा २२ दलको प्रतिबद्धतामा बनेको छ, र हामीले सरकार बनाउँदा शान्ति स्थितिलाई निश्कर्षमा पुर्याउने, सहमति र सहकार्यमा अघि बढ्ने प्रतिबद्धता गरेका छौँ । हामी त्यही बाटोमा अघि बढेका छौँ । यही समयमा हामीलाई जुधाउने र लडाउने प्रयासहरु पनि भइरहेका छन्, तर हामी समस्या समाधानतर्फ गम्भिर छौँ ।
दलहरुबीच द्धन्द्ध चर्किरहेका बेला के तोकिएको समयमा नयाँ संविधान जारी होला ?
अव हामीसँग ४/५ महिनाको छोटो समय मात्रै बाँकि छ, तर पनि संविधान सभामा सवै समितिहरु आ-आफ्नो ठाउँमा क्रियाशिल छन् । यसर्थ हामीले संविधान लेख्ने काममा डराइहाल्नुपर्ने स्थिति छैन । यसको मस्यौदा बन्ने काम भैरहेको छ । तथापि मस्यौदा लेख्नकै क्रममा कतिपय विषयमा विवादहरु देखा परेका छन् । त्यसलाई पनि हामीले प्रतिबद्धताका साथ समाधान गरेर सहमति जुटाउनुपर्ने छ । विशेषतः जनताले जिम्मेवारी दिएका हामी तीनवटा दलहरु गम्भिर रुपले छलफल गरी मतभेद अन्त्य गरेर एउटा अठोट र संकल्प लिएर अघि बढ्छौँ भने तोकिएकै समयमा संविधान बनाउन सकिन्छ, भन्ने कुरामा हामी विश्वस्त छौँ ।
के दलहरुले आगामी जेठ १४ भित्र संविधान बनेन भने कस्तो परिणामको सिर्जना होला भन्ने बारेमा केही सोँचेका छन् ?
त्यो कुरा अकल्पनीय कुरा हो । हामीले जेठ १४ भित्र संविधान बनाइसक्नुपर्छ । यदी त्यस्तो भएन भने संविधानसभा नै टुङ्गन्छ र सरकार पनि टुङ्गन्छ, त्यस्तो अवस्थामा मुलुकको अवस्था अराजकतातर्फ जान्छ । त्यो भनेको मुलुकमा प्राप्ति आन्दोलनका सम्पूर्ण सफलताहरुमाथि खतरा आउन सक्छ । यसर्थ ती खतरा आउन नदिने जिम्मेवारी हामी राजनीतिक दलहरुकै हो । त्यसैले अहिले हामीले लडाई गरेर, तँ ठूलो कि म ठूलो भनेर हिँड्न हुँदैन । जसलाई दोष दिए पनि प्रमुख दलहरु उम्कन सक्दैनन् । जसले गर्दा त्यो स्थिति आउन नदिनका लागि प्रमुख पार्टीहरु अत्यन्तै दृढ भएर अघि बढ्नुपर्छ ।
यही बेला केही जिम्मेवारी दलका नेताबाटै संविधानसभा विघटन गर्ने भन्ने कुराहरु पनि बाहिर आएका छन् नि ?
यो संविधानसभा भनेको नेपाली जनताको ६० वर्षको लामो आन्दोलनको उपलव्धी हो । यदि कसैले यो महान संविधानसभालाई विघटनको कुरा गर्छ भने त्यो नेपाली जनताको सत्रु हुनेछ । नेपालको राष्ट्रियता र अग्रगतिको सत्रु हुने छ । त्यसका विरुद्ध सम्पूर्ण जनताले जुनसुकै मुल्य चुकाउन बाध्य हुने छन् । त्यस्तो सम्भावना र आशंकामा अहिले हामी रहनु हुँदैन ।
माओवादीको आन्दोलन र सरकारको तालमेल हेर्दा त सहमतिको सम्भावना देखिदैन नि ?
अहिले जुन जुन ढंगले विभिन्न पार्टीहरु अगाडि बढेको भए पनि राष्ट्रिय सहमतिका आधारहरु सकिएको छैन । हामी त्रिपक्षिय छलफलमा छौँ । अहिले अविश्वासको खाडल किन बढ्यो ? यसलाई कसरी सहमतिमा ल्याउने भन्ने बारेमा हामीले छलफल गरेका छौँ । चाहे राष्ट्रपतिको कदम होस् चाहे अन्य मुद्दाहरु होउन् या त माओवादी लडाकुको पुर्नस्थापना र समायोजनका विषय हुन्, ती सबै सवालमा छलफल गरेर निकास निकाल्दै अघि बढ्नु पर्ने छ । यो विषय सहमतिमै टुङ्गन्छ भन्नेमा म आशावादी रहेको छु ।
कहिलेसम्म सहमति होला त ?
हामी अन्तिम घडीमा आएका छौँ । यो स्थितिमा राष्ट्रको भविष्य र राष्ट्रिय हितका विषयमा सोंच विचार गरेर हरेक दलले अलिकति मात्रै जिम्मेवारी भएर लाग्यौँ भने सहमति टाढा छैन । हामी सहमतिको प्रयासमै छौँ । यो प्रयासमा सबै दलले प्रतिबद्ध हुनु जरुरी छ ।