टंक वनेम
गोर्खा पेन्सनको सवालमा सेवा निवृत गोर्खालीहरु फेरि खाली हात फर्केका छन् । जसरी पहिलो, दोश्रो विश्वयुद्ध, मलायाको युद्ध र हङकङ टुट्दा कौडीको भाउमा आफ्नो वीरता, बहादुरिता र इमान्दारिता बेचेर खाली हात फर्केका थिए । त्यही वृटिस सरकारको सर्वोच्च अदालतले केहि वर्ष अघि गोर्खालीहरु हाम्रा समकक्षी मित्रहरु हुन्, उनीहरु यो देशमा आएर सेटल गर्न सक्छन् भनेर हरियो रङको पासपोर्ट थमाउँदै आवासीय भिषाले स्वागत गरेको थियो ।
पंक्तिकारले आवासीय भिषा दिनुको कारणहरुबारे केहि अघिका अङ्कहरुमा पनि केहि कुराहरु राखेको थियो । भरखरैको वृटिस सरकारको उच्च अदालतले गरेको फैसलाले त्यही अभिब्यक्तिको तारामा निशाना लगाएकोछ । भनौं आमा छोरीले गरेको उखानको सम्वाद जस्तै भएकोछ । लोग्ने मान्छे नभएको घरमा एउटा लोग्ने मान्छेलाई बास बस्न दिएर गल्ती गर्यौं । छोरी तँलाई होकि मलाई .............भने झैं भएकोछ । सन् १९९७ साल अघि र पछिको साध राखेर एउटै समकक्षी मित्रहरु माथि जघन्य अपराध र जातीय भेदको विरुवा रोप्न पुगेकोछ । जसले आˆनो ज्यानको पर्वाह नगरी वृटिसविरुद्धका दुश्मनमाथि जाई लागेर आफ्नो हात, खुट्टा र धेरैले ज्यान गुमाउन पुगेका थिए । तिनै बहादुर र वीर गोर्खाहरुलाई पेन्सन दिने भनेको बेलायतका लागि दिइएको नभएर नेपालको जीवनस्तर हेरेर दिइएको हो भन्ने कारण देखाई पन्छाउन खोजेको छ । तर वर्तमान सन्दर्भमा सन् १९९७ अघिका अधिकांश गोर्खाहरुले वृटिसआवासीय भिषा लिएर वृटिस जीवनस्तर विताइरहेका छन् । वृटिस सरकारको सर्वोच्च अदालत फैसला गर्छ, सन् १९९७ अघि सेवा निवृत गोर्खाहरुलाई गोर्खा पेन्सन दिनु उचित छ । दिउँसै हत्केलाले घाम छेकेर अँध्यारो बनाउने यो वृटिस सरकारको फैसला कतिसम्म न्योयोचित छ, इतिहासले मुल्याङ्कन गर्ने नै छ ।
यस्तो लैनो भैंसीको थारो बानी ब्यहोरा देखेर सम्पूर्ण गोर्खालीहरुको मत्तोमा एउटै लिङ्गो उभाएर अन्यायविरुद्ध लड्नु बाहेक अरु विकल्प छैन । हरियो घाँस देखाएर भीरबाट बुढी गाई लडाउने नीतिबाट मुक्त हुन गोर्खाहरु एकबद्ध हुनु पर्छ । जवसम्म गोर्खालीहरु यी साझा सवालहरुमा लामबद्ध भएर असमानताविरुद्ध अघि बढ्न सक्दैनन्, एमओडीको इशारामा बि्रटिस सरकारको सर्वोच्च अदालतले गोर्खालीहरु प्रति न्यायको फैसला गर्दैन । धेरैको अनुमानअनुसार वृटिस जनताले गोर्खालीहरुको पक्षमा साथ दिएपनि एमओडीका टप ब्रास र गोर्खाली उच्च ओहोदाका दुई चारजना ब्यक्तिको कोठे बैठकले तयार पारेको योजना नै सर्वोच्च अदालतको फैसला हो । तर पेन्सन र क्षतिपूर्तिको सवाल उनीहरुले योजना गरे जस्तो हुने छैन । वेलायतमा करिव १० हजार सेवा निवृत गोर्खाहरुले सेटल गरी सकेका छन् । त्यसमा दोस्रो विश्वयुद्ध ताका भिक्टोरिया क्रस विजेता तुलबहादुर पुन र लछिमन गुरुङ जस्ता वृटिस सरकारको लागि जीउँदा सहिदहरु समेत बि्रटिस समकक्षी पेन्सन नपाउने फैसलाले माखे साङ्लो लगाएकोछ । बेलायतमा बसेर नेपालको पेन्सन पाउने कुरा न्यायोचित हुन सक्दैन । पेन्सन र क्षतिपूर्तिको सवाल जुनै गोर्खाली संघ संस्थाले हाके पनि अब यो सवालको मियो वरिपरि गोर्खालीहरु घुम्नेछन् । आˆनो अधिकारको लागि घुम्नु पर्छ ।
अहिलेको नेपाल सरकार वृटिसले दिएको सलामी खाएर गुजुल्टिएको शाहवंशी सर्प जस्तो छैन । गणतान्त्रिक सरकारमा धेरै प्रकारका राजनीतिक र स्वाभिमानी विचारको सम्मान हुने भएकाले नेपाल सरकारले पनि यो विषयमा चासो राख्ने देखिन्छ, राख्नु पर्छ । गोर्खाली असमानताविरुद्ध वृटिस सरकारको उच्च अदालतले पटक पटक गोर्खालीहरुको विरुद्धमा फैसला गरेपनि वृटिस सरकारले बाँध थुन्ने झिनो प्रयास गरे जस्तो मात्र हो । आवासीय भिषाको सदुपयोग गर्दै पचपन्न वा साठी नाघेका सेवा निवृत गोर्खाहरुको जनसंख्या पनि निकै धेरै पुगिसकेको छ । बेलायतमा मानव अधिकार र रङ्गभेद हुँदैन भने पनि भाषा र उमेरको हद वा विभिन्न कारणले ती सेवा निवृत गोर्खाहरुले काम पाउन गाह्रो नहुने कुरै भएन । त्यसो भए पछि समकक्षी सैनिक नीतिअनुसार कि पेन्सन वा सरकारी सुविधा देऊ भनेर घण्टाघरको अगाडि भोक हड्ताल गरे भने ती बृद्ध, अशक्त र अपाङ्ग सेवा सुविधाबाट बञ्चित सेवा निवृत गोर्खाहरुलाई यो असमानताविरुद्ध वृटिस सरकारले कस्तो उपचार गर्दो रहेछ त्यो पनि हेर्नुछ । बि्रटिस सरकारले आवासीय भिषा दिने र बि्रटिस समकक्षी पेन्सन नदिने नीति वास्तवमा आफै बाझेकोछ । कमनवेल्थ नीतिअनुसार सेवा निवृत गोर्खाहरुले बेलायती आवासीय भिषा पाएपछि वृटिसले गोर्खाहरुलाई भाडाको सिपाहीको नीति नलिने हो भने यो पेन्सन र क्षतिपूर्ति बारे गोर्खा र वृटिस सरकार, बि्रटिस सरकारको उच्च अदालतमा मुद्धा लड्ने सवाल होइन । सन् १९४७ को त्रिपक्षीय सन्धिले स्पष्ट ब्याख्या गरेअनुसार बि्रटिस सेना बराबर सेवा सुविधाहरु धेरै पहिलेदेखि पाउनु पर्ने थियो ।
त्रिपक्षीय सम्झौताको बुँदाहरु यस्तो छ ।
HMG in UK in no way regarded Gurkha troops as mercenaries. They would from an integral and distinguished part of the British Army and that subject to the limitation of finance, supply and walfare facilities would be provided for Gurkha troops on similar lines to those provided for British (UK) troops.
In all matters of promotion, welfare and other facilities Gurkha troops should be treated on the same footing as the other units in the parents Army so that the stigma of "Mercenary troops" may for all times be wiped out. These toops should be treated as a link between to friendly countries.
तर एमओडीमार्फत गोर्खा पल्टनका बि्रटिस टप ब्रास साथै अन्य केहि गोर्खा अधिकृतहरुको सहयोगमा गोर्खा पल्टन भित्रै विभिन्न नीति नियमहरुको ठेलीहरु निर्माण गरेका थिए । उदाहरणका लागि ती बीजीएसआई (बि्रगेड अफ गोर्खाज स्डान्डीङ इनिस्ट्रक्सन) र आरएसआई (रेजिमेन्ट स्टान्डीङ इनिस्ट्रक्सन) आदि । गोर्खालीहरुलाई मात्र लागु हुने ती नीति नियमका ठेलीहरु अव कतै काम नलाग्ने भएका छन् । तर सन् १९९७ को सीमा बाधेर समान अधिकारको गर्धनमा वृटिस उच्च अदालतले बज्र प्रहार गरेको छ । यो फैसला न न्याय संगत छ न समय सान्दर्भिक नै । पहिलो कुरा, वृटिस सेवा निवृत गोर्खाहरु नेपालमा छैनन् । दोस्रो त्यही वृटिस उच्च अदालतले तिनै सेवा निवृत गोर्खाहरुलाई कमन वेल्थ नियमभित्र छिराएर आवासीय भिषा पाउने अधिकार दिएकोछ । आवासीय भिषा पाएका मध्ये धेरै गोर्खाहरुले वृटिस नागरिकता नै लिइसकेको हुनाले बि्रटिस समकक्षी नोकरी गरेको प्रतिशतको आधारमा पेन्सन नदिई सन् १९९७ को अघि र पछिको साध राखेर वृटिस उच्च अदालतले गोर्खा पेन्सनमा ठीक छ भनेर फैसला सुनाउनु गोर्खाहरु माथि अन्याय गर्नु हो । बि्रटिस सरकारले आवासीय भिषा दिएर पेन्सन र क्षतिपूर्ति नदिने कुरा गर्नु भोजमा बोलाएको पाहुनालाई स्वागत गर्दै खाने कुरा नभएको थाल मात्र राखि दिनु जस्तै हो । आवासीय भिषा पाउने कुरा कमनवेल्थसँग सम्वन्धित भएकाले आवासीय भिषाको अधिकार वृटिस समकक्षी सेवा सुविधा पाउनु हो । एमओडीबाट गोट र सन १९९७ को साध राखेर बेलायतमा जीवन विताउने अधिकार दिएर पेन्सन सेवा निवृत सेवा सुविधाबाट बञ्चित गर्ने कुरा मानवअधिकार र रङ्गभेद नीतिलाई प्रश्रय दिनु हो । एमओडीले गोर्खालीहरुविरुद्ध जुन रणनीतिअनुसार तयार गरेको योजनालाई वृटिस सरकारको उच्च अदालतले दुधको साक्षी बिरालो बसेर वृटिस सरकारको इतिहासमा अर्को कलङ्क थपेको छ ।
करिव दुई सय वर्षको इतिहासमा चार लाख नेपालीले बेलायतको झण्डा छोएर कसम खाएका छन् । पहिलो, दोश्रो महायुद्ध र अन्य विभिन्न सन्दर्भमा बि्रटिस सरकारको पक्षमा करिव सत्तरी हजार गोर्खालीले ज्यान गुमाइसकेका छन् । हजारौ बेपत्ता भएका छन् तर सही तथ्याङ्कसम्म राखिएको छैन । हजारौ घाइते र युद्धको पीडा बोकेर बिना पेन्सन जीवन धानिरहेका छन् । तिनै बहादुर र इमान्दारिताको कदर गर्दै आवासीय भिषा दिएका हौं चाँहि भन्ने तर वृटिस समकक्षीसरह पेन्सन र क्षतिपूर्ति सेवा सुविधाबाट बञ्चित गर्ने फैसला हुनुले के स्पष्ट पारेको छ भने वृटिस सरकारको गर्ने, हेर्ने र लेख्ने दृष्टिमा एकमत छैन । सन् १९४७ मा भएको त्रिपक्षीय सन्धिमा गोर्खालीलाई वृटिस सो सरहको सेवा सुविधा दिने भने पनि २०औं गुणा कम तलव, पेन्सन र सेवा सुविधा दिदै आएको थियो/छ । अहिले सन् १९९७ अघि र पछिको अर्को साध कोरेर सन् १९९७ अघिका सेवा निवृत गोर्खाहरु माथि अन्यायको चाङ थप्ने कार्य गर्नु स्वाभिमानी देशको निधारमा दासताको टीका लगाउनु हो । हामी बि्रटिस समकक्षी सेना हौं । सन् १९९७ अघि र पछिको साँध राखेर एउटै गोर्खालीहरु माथि फुटको सिर्जना गर्नु 'फुटाउ र राज गर' को नीति बाहेक अरु हुन सक्दैन । अबको युद्ध भनेको वृटिस सरकार माथि पेन्सन र क्षतिपूर्ति मात्र नभएर सन् १८८८ अघि (बीर शम्सेरसँग गोर्खा भर्ती गर्ने सन्धि गर्नु अघि) नेपाल सरकारसाग कुनै सन्धि सम्झौता बिना गोर्खालीहरुलाई फकाई फुल्याई भर्ति गरेको, पहिलो र दोस्रो युद्धमा भाडाको टट्टु बनाएर गोर्खालीहरुको वंश नाश साथै नेपालको कुनै सन्धि र सम्झौता बिना ब्रुनाई, सिङ्गापुरमा मानव तस्करी गरेर सलामी खाने मुद्दा समेत लाग्न सक्छ । वृटिस सरकारले हामीलाई दान र भेटी मागेर जीवन गुजार्ने भाडाको सिपाहीको ब्यबहार नगरेर आˆनै समकक्षी सेनाको अधिकार दिनु पर्छ । गोर्खाहरुले ज्यान गुमाए, आˆनो वंश गुमाए, धर्म संस्कृति र भाषा साहित्यबाट विमुख हुन वाध्य भए । अब बि्रटिस सरकारद्वारा दुई चार जना नेतालाई फकाएर दुई चार दिन यो मुद्दा माथि सुस्तता ल्याए पनि अधिकारको साझा लडाइँमा गोर्खालीहरु एक भएरै छाड्ने छन् । यो लडाइँको गन्तब्य युरोपियन युनियनको कोर्टमा पुर्याएर हुन्छ वा नेपाल सरकारमार्फत राष्ट्रसंघको बडापत्रमा ठोक्काएर हुन्छ, अधिकारको लडाइँ समाप्त हुने छैन । सबैलाई थाहा भएको कुरो हो, वृटिस सरकारले नेपालका नौजवान गोर्खाहरुलाई आˆनो पल्टनमा भर्ति गरेर बहादुर गोर्खा भनेर सर्काउन जान्यो । यो गोर्खाहरु बहादुर र इमान्दार हुन्छन् भनेर इतिहास लेखेर संसारमा फिजाउन जान्यो । पहिलो, दोस्रो, मलाया, साइप्रस, फकल्याण्ड, पछिल्लो दशकमा युगोस्लाभियाबाट छुट्टएका विभिन्न राज्यहरु, इराक साथै अफगानिस्थानसम्म प्रयोग गरे पनि तलव, पेन्सन र सेवा सुविधा दिन वृटिस सरकार किन कञ्जुस्याइँ गर्दछ ? वृटिस सरकारले जस्तोसुकै कञ्जुस्याइँ गरे पनि, जस्तोसुकै बुद्धिको गोटी चाले पनि यो मुद्दा अन्तर्राष्ट्रिय रुपमा स्थापित भइसकेको हुनाले असमानताविरुद्धको लडाइ यत्तिकैमा समाप्त हुने छैन । यसका लागि समस्त गोर्खाली संघ संस्थाहरु एकवद्धता भई अधिकार प्राप्तिको छलाङ मार्नु पर्छ । जुन दिन असमानताविरुद्धको लडाइमा विजय प्राप्त गरिन्छ, त्यही दिन मात्र यो लडाइको अन्त हुनेछ । हाम्रा वीर गोर्खाली पुर्खाले बगाएको रगत र पसिनाको मूल्य वृटिस सरकारले चुकाउनै पर्छ । स्वर्गमै भए पनि ती भेदभावको शिकार भएका पुर्खाहरुको आत्माले शान्ति पाउनेछ ।
अबको बाटो कतातिर ?
बेलायतका जनताले आफ्नो स्वतन्त्रता र मानव अधिकारका लागि राजा जोनसँग सन् १२१५ मा माग्ना कार्टा सन्धि पत्र लिएर बेलायती जनता अधिकार प्राप्त गरी जनता भएका थिए । सम्भवतः उसै वेलादेखि बेलायत कसैको निरङ्कुस एकतन्त्री शासनबाट मुक्त भएको देश हो । गोर्खाहरु त्यही देशको समकक्षी सेनाहरु हुन् । अर्को कुरा, संयुक्त राष्ट्र संघको मानव अधिकार सम्बन्धी विश्वब्यापी घोषणपत्र सन् १९४८ को धारा १ मा 'प्रत्येक ब्यक्ति स्वतन्त्र जन्मन्छ, ती सबैलाई बराबरी ब्यबहार गर्नु पर्छ, उनीहरु सबै आˆनो अधिकार र मर्यादामा समान छन्' भनिएकोछ । सन् १९६३ नोभेम्वर २० मा संयुक्त राष्ट्रसंघको अर्को महासभाले सबै प्रकारका जातीय विभेद उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय घोषणपत्र जारी गरेकोछ । घोषणपत्रको धारा १ मा जात, रङ्ग र जन्मको आधारमा मानवहरु बीचमा गरिने विभेद मानवीय प्रतिष्ठाको विरुद्ध र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घन हो भन्ने कुरालाई प्रत्याभूत गरेकोछ । यसैको आधारमा महासभाले सन् २१ डिसेम्बर १९६५ मा सबै प्रकारको जातीय विभेद उन्मुलन गर्ने अन्तर्राष्ट्रिय महासन्धि पारित गरेर हस्ताक्षरका लागि खुला गरि सन् ४ जनवरी १९६९ देखि संयुक्त राष्ट्रसंघका सदस्यहरुले हस्ताक्षर गरेका छन् । जातीय विभेद अन्त्य गर्ने पहल गर्ने राष्ट्र मध्ये बेलायत पनि एक हो । तर ब्यबहारमा गोर्खालीहरुलाई जातीय वा जन्मेको देशको आधारमा सेवा सुविधा र क्षतिपूर्ति दिन कञ्जुस्याइँ गरेको हुनाले र एउटै देशका नागरिकहरुलाई सन् १९९७ अघि र पछि दुई खेमामा बाडेको हुनाले संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएका सन्धि र त्रिपक्षीय सम्झौता विपरित यिनै बुदाहरु माथि न्याय पाउन वृटिस सरकारविरुद्ध युरोपियन युनियनको उच्च अदालतमा मुद्दा दायर गर्न सकिन्छ । यो मामलामा सेवारत र सेवा निवृत गोर्खालीहरुको समस्या मात्र नभएर देशकै समस्या र नेपालको स्वाभिमानसाग जोडिएको हुनाले नेपाल सरकारमार्फत यो मुद्दा माथि चासो राखि अघि बढनु पर्छ । बि्रटिस सरकारलाई थाहा छ, पेन्सनको समस्या मात्र समस्या होइन क्षतिपूर्ति र कति सन्धि सम्झौता बिना गोर्खालीहरुमाथि भए गरिएका वर्तमान अन्य समस्याहरुको समाधान कसरी गर्न सकिन्छ भन्ने तिर पनि ध्यान आकषिर्त हुनु पर्छ । नत्र दुई सय वर्षको इतिहासमा गोर्खालीविरुद्ध के कस्ता अन्याय गरिए, त्यसको फेहरिस्त मूल्य चुकाउनु पर्ने हुन्छ । डेज अफ ग्लोरी त्यसैको एक उदाहरण हो । कुनै एक गोर्खाली संस्थाले दायर गरेको पेन्सनको मुद्दा हारे पनि सबै गोर्खाली हारेको छैन । त्रिपक्षीय सन्धि, नेपाल सरकार र संयुक्त राष्ट्रसंघको बडापत्रका धाराहरुका बुँदाअनुसार गोर्खालीहरुको हार भएको छैन ।