काठमाण्डौमा समस्याबाट भुक्तभोगी भएका हुलका हुल जमातले जताततै भन्न थाले - '... होर' , '...होर...'
तिहारको बेला, हानेछ क्याहो कसैले ताल माथि ताल भन्ने लाग्यो । ल बा अब क-कसले जितौरी पाउलान् भन्ने पनि लागेको थियो । जितौरीको आशा बोकेर लुसुक्क गर्दै कुनाबाट यसो कान थापेको त के हुनु नि अरु, त्यहा त फोहोरको हुाकार पो रहेछ । जमरजुत्तेले बाटो छेके झैं काठमाण्डुका चोक जति मा 'फो...होर' थुपि्रएर बाटो छेकेको पो रहेछ ।
अचम्म लाग्यो यो पशुपतिका कृपाले चलेको देशमा फोहोर हटाउन पनि ओखरपौवाका बारीमा फलेको ओखर ल्याएर संघारमा राखेर फोर्न पर्दोरहेछ । यो फोहोरमा हुर्कने जमरजुत्तेलाई तहलाउने नेतागणलाई ओखर फोरे जसरी लोहोराले बजार्ने मन्त्र पर्खेर तिहारको मुखमा एक थरी त तीन गड्डी लिएर एक्काइस पत्तीको खालमा बसेछन् । अर्काथरिले भने मानव विकास सूचकांकको ताँतीमा पुच्छार तिरबाट नेपालको नाम खोज्दै जाँदा यसमुनि पनि अरु नाम देखेर पत्यार नलागी नलागी पशुपतिको छत्रछायाँ त फापेकै रहेछ भन्ने मनमा गम्दै पुजारी फेरे कतै अनिष्ट त हुँदैन भन्ने डरमा थर - थर काँपिरहेका थिए ।
त्यो विवादास्पद स्थलमा अवस्थित शिव बाबालाई पनि के झोक चलेछ कुन्नि फोहोरको डुँगुरमा लुछाचुडी गर्न आउने पुजारीको देशलाई दश कदम माथि नै पारेछन् । अचम्म छ बा, दान दिएर पुजारी पाल्ने जजमान सधैका माइखाने, पुजारी भट्ट चाँही भेटी माथि दाई हाली खाने । तैपनि पशुपतिको महिमा ... टिकेकै छ ।
नेतागणको बुद्धिमा थुप्रेको फोहोरको जम्मरजुत्ते मार्न ओखर फोर्ने तिहार कहिल्यै आएन, अनि विचरा पशुपतिका कृपाले कति नै चल्थ्यो र ? बरु यी भारतका पुजारी भन्दा नर्बेका पादरीले पशुपतिको पुजा गरे यो अनिस्टकारी फोहोरी जम्मरजुत्ते थन्किन्थ्यो कि Û आधा शताब्दि अघि हाम्रै दामल रहेको नर्बे टुप्पामा पुगेछ हामी चााही सगरमाथाको हिउँ पग्लिएर बगेको पानी झै बग्दै बग्दै १४४ स्थानमा ।
फोहोरको डङ्गुरको गन्धलाई कुटनीतिक चालको दाउ ठान्ने हाम्रा नेता कस्ता भने लैनचौरबाट निस्केको झन्कारमा र्झकने तर जनताको नाममा बज्रने, भेटीको तालमा मस्कने अनि आफ्नै भविष्यको अन्धकारमा खस्कने ।
फोहोर बस्तीमा फोहोर मानसिकता लिएर लगाम कस्नेहरुले संविधानमा आफ्नै फोहोरी बानी सपार्ने सपना छाडेका छैनन् । यहाँ जनताको मतका आधारमा बनेका जनप्रतिनिधिहरु लगामको तालमा लर्को लाग्न बाध्य छन् र जनताबाट तिरस्कृतहरुद्वारा बाँधिएका छन् । जनताले नपत्याए पनि असली मालिक रिझाउन सकेपछि फोहोरको डङ्गुरमा कमल फुलाउने सपना बााडेर खेलिने फोहोरी खेलमा च्याखे थाप्नेहरुको भीड लाग्ने नै भयो ।
भीड भाडको सभाले संविधान लेख्ला नलेख्ला तर यो पण्डित यहाँ जनभावना नसमेटिएला भन्ने चिन्ता लेख्न सक्छ । यो तिहारको जुवाडी नसामा फोहोरको चाङ माथि बसेरै भए पनि सरकार अरु केही दिन धकेल्न सक्छ । कसैलाई जनवादको अग्रगमनकारी संविधान चाहिएको छ कसैलाई प्रतिगामी मौका समात्ने चान्स भएको धारा उपधारा चाहिएको छ अनि कसैलाई यथास्थिति कायम गर्न काठमाडौंको फोहोर माथि कमलको फूल फकि्रएको जस्तो कुटनीतिक दाउ चलाउने माहोल चाहिएको छ । मलाई पनि यो विषय यहाँ टुङ्ग्याउने आधार चाहिएको छ ।